Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उच्च अदालत पाटनले दीपा नेपालीमाथि जातीय विभेद गरेको कसुरबाट घरभेटीलाई दियो सफाइ

कैलालीकी दीपा नेपालीमाथि जातीय छुवाछूत गरेको आरोपबाट गृह मन्त्रालयका प्रशासकीय अधिकृत कृष्ण बिडारी र उनकी पत्नीलाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ। यसअघि उनलाई जिल्ला अदालतले पनि सफाइ दिएको थियो।

सोमबार न्यायाधीश सुभाष पौडेल र सुदर्शनराज पाण्डेको इजलासले जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर गर्ने फैसला गरेको उच्च अदालत पाटनका शाखा अधिकृत निलकण्ठ ढकालले जानकारी दिए।

बिडारीविरूद्ध २०७६ साल फागुन २२ गते नेपालीले आफूमाथि जातीय विभेद गरेको भन्दै जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीमाथि अनुसन्धान गरेर सरकारी वकिलले आफ्नै घरमा भाडामा बस्ने नेपाली र उनका भाइबहिनीमाथि छुवाछूत गरेको अभियोग लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

जिल्ला अदालतले भने पानीको निहुँमा भएको झगडालाई जातीय छुवाछूतको रूप दिएको भन्दै बिडारीलाई सफाइ दिएको थियो। तर सरकारी वकिलले भने प्रमाण नहेरेको भन्दै पुनरावेदन गरेको थियो।
मंसिरमा दर्ता भएको पुनरावेदनमाथि उच्च अदालत पाटनमा आज अन्तिम बहस भएको थियो।

आजको बहसमा पनि सरकारी वकिल चन्द्र संजेलले बिडारीले नेपालीलाई जातीय विभेद गरेको प्रमाणका रूपमा आफूहरूले पेस गरेका भिडिओ र अडिओ हेर्न अनुरोध गरेका थिए।

न्यायाधीशहरूले भने उक्त भिडिओ हेर्ने प्रकृयाबारे सोधेका थिए। सञ्जेलले आफूहरूले उक्त भिडिओ पेस गरेकाले इजलासले इजलासमै वा आफैं हेर्न सक्ने बताएका थिए।

न्यायाधीशहरूले उनले पेस गरेका भिडिओ इजलासमा हेरेनन्। फैसलाको पूर्णपाठ नआएकाले ती भिडिओबारे उनीहरूले के भन्छन् हेर्न बाँकी छ।
बहसमा बिडारीका वकिलले भने आफ्नो पक्षले पानीको निहुँमा भएको झगडालाई जातीय छुवाछूतको रूप दिइएको भन्दै बहस गरेका थिए।

दीपा आफ्ना भाइबहिनीसहित २०७६ मंसिर १३ गते बिडारीको तारेश्वर नगरपालिकास्थित घरमा कोठा भाडामा लिई बस्न थालेका थिए। कोठामा दीपाका अनुसार सरेकै दिन बिडारीकी छोरीले उनीहरूको परिचय मागिन्। उनी परिचय सोधेर फर्किइन्।
भोलीपल्ट बिहान घरभेटी बिडारी दीपाको कोठामा आएका थिए।

दीपाका अनुसार, त्यसपछि उनले भने, ुकुरा गर्न आएको। तिमीहरूलाई त मेरी श्रीमतीले परिचय नै नसोधी कोठा दिइछ। तिमीहरूको जात थाहा भएपछि यहाँ अरू पनि बस्दैनन्। त्यसैले अन्तै कोठा खोज्नू, यहाँ बस्न मिल्दैन।ु

त्यसपछि दीपाले विभिन्न निकायमा उजुरी दिएकी थिइन्। ती उजुरीमा सुनुवाइ नहुँदै फागुन ४ गते घरबेटीले उनको कोठाबाट सामान फ्याँकिदिए। त्यो दिन पानीको निहुँमा झगडा भएको जिकिर बिडारी पक्षले गरेको थियो।

आफ्ना सामान फ्याँकिदिए पनि सोही कोठामा बस्न बाध्य भएको दीपाले बताएकी थिइन्। त्यसपछि त दिनदिनै झगडा हुन थालेपछि फागुन १९ गते दीपाले महानगरीय प्रहरी वृत्त बालाजुमा निवेदन दिन गइन्। उनले सुरूमा ठाडो निवेदन दिइन्, तर प्रहरीले दर्ता गर्न आनाकानी गरेको उनी बताउँछिन्।

त्यसपछि भोलिपल्ट जाहेरी लिएर जाँदा गृहका कर्मचारी बिडारीले जाहेरी दर्ता नगराउनेसम्म कसरत गर्न थालेको उनले बताइन्।
म जाहेरी दिन जाँदा त प्रहरी कार्यालयमा ठूल्ठूलो ज्यान भएका १०/१५ जना मानिस थिए। उनीहरूले यहाँ जे पनि हुन्छ भनेर मलाई धम्की दिए। तर, मेरो मनबाट डर हराइसकेको थियो, दीपाको भनाइ छ।

यो विवादले सामाजिक सञ्जालमा चर्चा पाएपछि गृह मन्त्रालयले बिडारी र दलित विकास समितिका निर्देशक डा। बुद्धि नेपालीलाई बोलाएर सोधपुछ गरेको थियो।
त्यसपछि फागुन २२ गते साँझ ६ बजे दीपाको जाहेरी दर्ता भयो। तर, बिडारीलाई प्रहरीले पक्राउ गरेको थिएन।

फागुन २६ गते दीपालाई गृह मन्त्रालयबाट फोन आयो। उनी अरू पनि मानिस लिएर त्यहाँ गइन्। आफ्ना कुरा राखिन्। त्यसपछि दीपा तत्कालिन महान्यायाधीवक्ता अग्नी खरेल कहाँ गएकी थिइन्। महान्यायाधीवक्ता अग्नी खरेलले उनका कुरा सुनेर न्याय पाउने आश्वासन दिएका थिए।

सोही दिन प्रहरीले घरबेटीसहित उनलाई विभेद गर्ने चार जनालाई पक्रिएको थियो। घरबेटी बिडारीले भने आफूमाथि गलत आरोप लागेको जिकिर गरेका थिए। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर पछि उनलाई सफाई दिएको थियो।सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com