Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो

असार, ५ काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आज दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

सो खोप आज बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । प्रदेशस्तरमा आवश्यक फाइजर खोप आजै पठाउने तयारी छ’, थापाले भने ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ  । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइने थापाले जानकारी दिए ।

यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने महाशाखाले जनाएको छ ।
‘आज पहिलो चरणको खोप आइपुगेको छ । भण्डारण कक्षको पनि अभाव हुने भएकाले हामीले चार पटकमा गरी ८४ लाख खोप ल्याउनेछौं’, थापाले भने ।

महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com