Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकाको थप उपचार विराटनगरमा

प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि विराटनगर सिफारिस गरिएको छ।

आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो।

शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै गाडी रिजर्भ गरेर विराटनगर लगिएको शिक्षिकाका श्रीमान कृष्ण कार्कीले बताए। शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रधानाध्यापक पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घाइते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल लगेका थिए।

बैठकमा छलफल हुँदाहुँदै प्रधानाध्यापक पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन्। विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको १० हजार ८८५ रूपैयाँ, सीप विकासको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मत कोषको नौ हजार, छात्रवृत्तिको चार हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवाखाजाको ३४ हजार ५९६ लगायत गरी एक लाख ३२ हजार ९३१ रूपैयाँको आयव्ययका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन्।

यसअघि शल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्ने अनुमान छ। पाठेघरसम्बन्धी समस्या रहेकी कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगेर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ।

जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घटना भएकाले थप समस्या आउन सक्ने सम्भावना मध्यनजर गरेर विराटनगर सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामाले बताइन्।

घटनाको विषयमा आफूकहाँ जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com