Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कक्षा ३ सम्म पढाउने विद्यालयमा मात्र एक जना विद्यार्थी

१ असार, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् । उनी हुन् अढाइ वर्षीय सिमरन सोमै । चालु शैक्षिक सत्रमा उनीसँगै अरु दुई जना आएका थिए । तर, दुई जनालाई अभिभावकले निजी विद्यालय लगेपछि सिमरन एक्लै विद्यालय आइरहेका छन् । कक्षा १ देखि ३ सम्म कुनै विद्यार्थी छैनन् ।

विद्यालयको स्थापना २०४५ सालमा भएको प्रधानाध्यापक हरिबहादुर खड्का बताउँछन् । ५५ जना विद्यार्थी भर्ना गरेर २०४५ सालमा एकसम्म खुलेको विद्यालय हरेक वर्ष कक्षा थप गर्दै ४ कक्षासम्म पुर्‍याइएको थियो । तर शिक्षक दरबन्दी कम भएकाले ४ कक्षा सञ्चालन गरेको चार वर्षपछि आन्तरिक स्रोतबाट निरन्तरता दिन सकिएन । त्यसपछि ३ सम्म मात्रै कायम गरेर पढाउन थालिएको प्रधानाध्यापक खड्काले जानकारी दिए ।

विद्यालयमा केही वर्षअघिसम्म करिब दुई सय जनासम्म विद्यार्थी पुगेका थिए । तर, अभिभावकमा देखिएको अंग्रेजी मोहले बालबालिका अंग्रेजी माध्यमका विद्यालयतिर लैजान थाले । त्यसपछि दुर्गा आधारभूत विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।

गत वर्ष वैशाखमा नगरपालिकाले विद्यालय नजिकै रहेको बरामिका आधारभूत विद्यालयमा समायोजन भएर दुर्गा आधारभुत खारेज भएको सूचना निकाल्यो । गत वर्ष २१ जना बालबालिका थिए । विद्यालय अर्को विद्यालयमा समायोजन भएको र खारेज भएको सुनेपछि अभिभावकले भएका बालबालिका पनि अन्तै लगे ।

तर विद्यालय शिक्षक कर्मचारी भने अहिलेसम्म व्यवस्थापन भइसकेको छैन । शिक्षक, कर्मचारी व्यवस्थापन भइनसकेकाले उनीहरु विद्यालय आउँछन् । त्यसैले शिशु कक्षामा अढाई वर्षीय विद्यार्थी आउने गरेको प्रधानाध्यापक खड्काले बताए ।

नगरपालिकाले शिक्षकहरुलाई अध्यापनको लागि विद्यालय छनोट गरी निवेदन दिन भनियो । स्थाई शिक्षक मध्ये प्रधानाध्यापक खड्का स्वेच्छिक अवकास लिने तयारीमा छन् । भने दुई जना शिक्षकले विद्यालय छनोट गरेर नगरको शिक्षा शाखामा निवेदन दिएका छन् । अब एक जना बालविकास शिक्षक र एक जना कार्यलय सहयोगीलाई निरन्तरता नहुने नगरशिक्षाले जानकारी दिएको प्रधानाध्यापक खड्का बताउँछन् । उनले भने ‘विद्यालय रोज्ने शिक्षक साथीहरुलाई अहिलेसम्म नगरपालिकाले अब पठाउँछ होला । अहिलेसम्म त यतै हाजिर गरिरहनुभएको छ ।’

यो विद्यालय बन्द हुन दिँदैनौं – वडाअध्यक्ष

वडा अध्यक्ष जमशेर मियाँले विद्यालय बन्द हुन नदिन पहल शुरु गरेको बताए । उनले भने ‘यो विद्यालय अर्कै विद्यालयमा मर्ज भएको भन्ने रहेछ । बुझ्दैछु । सकेसम्म यो विद्यालय बन्द हुन दिँदैनौं ।’ मंगलबार शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकसँग छलफल गरेको मियाँले बताए । छलफलमा विद्यालयको अवस्थाबारे जानकारी लिनुको साथै अभिभावकहरुको विचार लिएको उनको भनाइ छ ।

जनप्रतिनिधि सहितको छलफलमा विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनको लागि अंग्रेजी माध्याम बनाउनुपर्ने प्रधानाध्यापकले सुझाव दिएको बताए । उनले भने ‘अहिले अभिभावकहरु अंग्रेजीबाट पढाइ हुने विद्यालय खोज्दै बालबालिका लान्छन् । त्यसैले अंग्रेजी माध्यामबाट पढाई शुरु गरे वरपरका सबै बालबालिका आउँछन् ।’

छलफलमा सहभागी अभिभावकहरुले पनि विद्यालय पुनःसञ्चालन हुने भए बालबालिका पढ्न ल्याउन तयार रहेको बताएकोले अब विद्यालयलाई बन्द हुन नदिन पुर्‍याउनुपर्ने प्रकृया अपनाउने वडाअध्यक्ष जमशेर मियाँले बताए । उनले भने ‘विद्यार्थी कम भयो भनेर विद्यालय बन्द गर्नु भनेको पढ्न आउने बालबालिकाको लागि अन्याय हो । खासगरी बालकक्षाका बालबालिकाहरुलाई नजिकका विद्यालय बन्द गरेर टाढा पठाउनु हुँदैन । त्यो अनुसार पहल थाल्छौं अब ।’

विद्यालयको खाली कोठामा स्थानीयबासिन्दाले राखेको समान पनि हटाउन लगाएको उनले बताए ।

प्रधानाध्यापक हरिबहादुर खड्काका अनुसार वरपरका बालकक्षा पढ्ने उमेरका बालबालिका टाढाका सामुदायिक विद्यालय वा नीजि विद्यालय जान बाध्य छन् । विद्यालय फेरि सञ्चालन गर्न जोड गरिरहेकाले सहयोग गर्न तयार भएको उनी बताउँछन् । भन्छन्, ‘४५ सालमा म एक्लै शिक्षक थिएँ । त्यस यता यहि विद्यालयमा छु । मलाई यो विद्यालयको माया छ । वडा अध्यक्षले विद्यालय बन्द हुन दिँदैनन् भने म सघाउन तयार छु ।’

विद्यालय समायोजन कार्यान्वयन निर्देशिका, २०७० ले विद्यालयका रुपमा सञ्चालन हुन नसक्ने विद्यालयलाई नजिकको विद्यालयसँग गाभी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । दुई वा सो भन्दा बढी विद्यालयको परिसर एक आपसमा जोडिएको, दुई वा सो भन्दा बढी विद्यालयबीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको, नजिकमा रहेका दुई वा सो भन्दा बढी विद्यालय मध्ये एउटा वा सबैमा विद्यार्थी संख्या पहाडी क्षेत्रमा कक्षा १–३ मा ४५ जना मात्रै भएको अवस्थामा समायोजन हुने व्यवस्था छ । अनलाइन बाट प्रकाशित

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com