Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

केशवले भेट्न पाएनन् मुग्लिनको जाममा फसेकी श्रीमती

मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो।

घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँथे।
चितवन गएकी श्रीमती जाममा परेपछि लिन भन्दै शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उनी पहिरोमा परेका थिए।

उनको शव आज बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका हुन्।
घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन। सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो।
बिहान करिब ४ बजेर ५० मिनेटमा सडक भासिएको प्रहरीको अनुमान छ।

आँबुखैरेनीका स्थानीय बासिन्दाका अनुसार घिमिरेकी श्रीमती माइत गएकी थिइन्। उनको माइत चितवन हो। चितवनबाट फर्कँदै गर्दा जाममा परेपछि उनले श्रीमानलाई बोलाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेको बताए।
‘उहाँको श्रीमती सम्पर्कमा आइसक्नुभएको छ। उहाँलाई नै लिन केशव मुग्लिनतर्फ जाँदा सडक भासिएर परेको भन्ने बुझिएको छ,’ उनले भने, ‘धेरै कुरा हामीले सोध्न सकेका छैनौं, उहाँ भन्न सक्ने अवस्थामा पनि हुनुहुन्न।’

घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ।
सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।

यस्तै बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पनि पहिरामा खसेर बेपत्ता छ। मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

बिहानदेखि अवरूद्ध मुग्लिन-आँबुखैरेनी सडक दिउँसोबाट एकतर्फी खुल्न थालेको छ। माइक्रोबस सम्मका साना सवारी कट्न सक्ने बाटो बनेको छ।
डोजर लगाएर पहरो काटेर बाटो खुलाइएको हो। ठूला सवारी साधन चल्न समय लाग्ने प्रहरीले जनाएको छ।सेतो पाटी बाट प्रकाशित

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com