Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

जेठ,२५ काठमाडौं। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् ।

वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरु आक्रमणको सिकार बनेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्याङ्क सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गर्छन् । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।

बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उनी बताउँछन् ।

बाघका सम्बन्धमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउँछन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

लामिछानेको भनाइमा बाघको सङ्ख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरुमा पूर्ववत् अवस्थामा स्थानीयहरु घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको भनाइ छ ।

उनले भने, ‘यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।’ उर्वर ठाउँहरुमा घाँस निहुरो जस्ता वस्तु प्रशस्त पाइने र तिनै ठाउँमा बाघको आहारा प्रजाति बढी पाइने हुँदा जम्काभेट भएर घटना हुने गरेको लामिछानेको भनाइ छ । कतिपय अवस्थामा मान्छेले निहुरिएर काम गर्दा आहारा प्रजाति सम्झेर झुक्किएर पनि बाघले आक्रमण गर्ने गरेको उनी बताउँछन् ।

पहिले खुल्ला ठाउँ हुँदा जुन ढङ्गले मध्यवर्ती वनको उपभोग स्थानीयवासीले गरेका थिए, अहिले झाडी हुँदा पनि त्यही ढङ्गबाट काम गर्दा जोखिम बढेका छन् । मानिसमाथि आक्रमण अधिकांश वनभित्र भएका छन् ।

बस्तीमा बाघ आउँनासाथ नियन्त्रणमा लिने गरिएको छ । चालु आर्थिक वर्षमा चारवटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये दुईवटा मरेका छन् भने दुईवटा कसरामा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत बाघ विज्ञ डा चिरञ्जीवीप्रसाद पोखरेल बाघको सङ्ख्या बढेका कारण घटनाहरु थपिएको बताउँछन् । पूर्ववत् अवस्थामा भन्दा फरक ढङ्गले सावधानी अपनाएर काम गरेमा बाघबाट बच्न सकिने उनको भनाइ छ ।

सङ्ख्या बढेसँगै बाघका बासस्थान फैलिँदै गएका छन् । जङ्गलभित्र जानुअघि वन्यजन्तुबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा ज्ञान राख्नुपर्ने उनी बताउँछन् ।

सङ्ख्या बढेकाले मानिसहरुसँग जम्का भेट हुने र घटना बढेको छ । वन क्षेत्रमा आहारा प्रजाति पुगेकै कारण बाघ बस्तीमा पसेका घटना कम भएको पोखरेलको अनुमान छ । बाटोहरु निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउन सकेमा यस्ता घटना कम हुने उनी बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल बाघको सङ्ख्या बढेकै कारण आक्रमणका घटना थपिएको बताउँछन् । बाघ छ भन्ने थाहा पाएर पनि सावधानी विना मानिस जङ्गल जाँदा अकालमै ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

सामुदायिक वनहरुमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उनले बताए । चोरीको नियत साथ सुटुक्क वन पस्नेहरु बढी जोखिममा रहेको कँडेलको भनाइ छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com