Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भेरी अस्पतालमा बिरामीको चाप बढ्दै

जेठ,२२ काठमाडौं । गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन् । भेरी अस्पतालका सूचना अधिकारी डा।सङ्केतकुमार रिसालले कोभिड खोपका कारण पनि त्यस्तो भएको हुनसक्ने उल्लेख गर्दै झाडापखालाका बिरामी अस्पतालमा बढी भएको जानकारी दिए ।

अस्पतालमा प्रतिदिन १०० देखि १५० जनासम्म विभिन्न रोगका बिरामी आउने गरेका छन् । बालबालिकादेखि वृद्धसम्म झाडापखाला, दम, टाउको दुख्ने लगायतका बिरामीले अस्पताल भरिभराउ भएको डा रिसालले बताए ।

उनले सर्पदंशको बिरामी पनि यसवर्ष कम भएको उल्लेख गर्दै वृद्धमा दमको समस्या बढी भएकाले उपचारका लागि आउने गरेको बताए । भेरी अस्पतालबाहेक यहाँका नेपालगञ्ज मेडिकल कलेज, रामजानकी अस्पताल, वेष्र्टन अस्पताललगायतमा झाडापखाला, दम, टाउको दुखेका बिरामी देखिएका छन् ।

चिकित्सकहरुले गर्मी याममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जमा दिउँसो चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस सम्म पुगेको छ । तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको स्थानीयवासीले बताएका छन् । त्यसैमा जथाभावी विद्युत् कटौतीले गर्दा स्थानीयवासीले सास्ती खेपेका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com