Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?

सञ्जय दत्त बलिउडका थोरै कलाकार मध्ये एक हुन् जसले आफ्नो फिल्मबाट धेरै नाम त कमाएका छन् तर उनी धेरैजसो विवादमा पनि परेका छन् । सुनील दत्त र नरगिसका छोरा सञ्जय दत्तले बलिउडलाई धेरै ब्लकबस्टर फिल्म दिएका छन् । सन् १९९३ को मुम्बई विष्फोट मुद्दामा उनले आफ्नो जीवनका केही वर्ष जेलमा पनि बिताएका छन् ।

अब सञ्जय दत्तले रिल र रियल, दुबैमा नयाँ सुरुवात गरेका छन् । उनी एकपछि अर्को गरी धेरै चलचित्रमा देखिँदै आएका छन् । हालै उनी ब्लकबस्टर भएको केजीएफ–टुमा देखिएका थिए ।

सञ्जय दत्तले बीबीसी हिन्दीसँग आफ्नो फिल्म यात्रा, परिवार र जेल जस्ता सबै विषयमा कुराकानी गरेका छन् ।

सञ्जय दत्तले जेलमा कमाएको पैसा जोगाएर राखेका छन्

सन् १९९३ मा १२ मार्चमा मुम्बईमा श्रृंखलाबद्ध बम विस्फोट भएको थियो । यसमा सञ्जय दत्तको नाम पनि आएको थियो । सञ्जय दत्तलाई पछि अबु सलेम र रियाज सिद्दिकीमार्फत् अवैध बन्दुकको डेलिभरी लिएको र तिनीहरूलाई नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सन् २०१३ मा सर्वोच्च अदालतले टाडा अदालतको फैसलालाई सदर गर्दै सञ्जयलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

उनलाई यस्तो कठिन अवस्थामा कुनैबेला हौसला टुट्यो भनेर प्रश्न सोधियो । यो प्रश्नको जवाफमा उनले भने, ‘आफूले हौसला गुमाएको कहिल्यै थाहा भएन ।’
यतिबेला सञ्जय दत्तले जेलमा रहँदा हवलदारबाट पाएको सल्लाह पनि उल्लेख गरेका छन् । उनी भन्छन्, ‘म जेलमा हुँदा मलाई एक हवल्दारले भनेका थिए– सञ्जु बाबा तिमीले आशा गर्न छोड्यौ भने जेलको समय एकैछिनमा बित्नेछ । ‘मैले आशा नै गर्न कसरी छोडौँ’ भनेँ । उनले भने, ‘कोसिस गर’ । मैले उनको कुरा गम्भीरताका साथ लिएँ र कोसिस गरेँ । आशा गर्न छोड्न मलाई दुई तीन हप्ता लाग्यो । जब मैले आशा गर्न छोडिदिएँ तब समय असाध्यै छिटो बित्यो ।’

सञ्जय दत्तले जेलमा झोला बनाउने, रेडियो जकीको काम गर्ने जस्ता विभिन्न काम गरेर ५–६ हजार रुपैयाँ कमाएको बताउँछन् । सञ्जय दत्त भन्छन्, ‘मैले जेलमा ५–६ हजार रुपैयाँ कमाए । त्यो मैले निकै जतनका साथ राखेको छु, श्रीमतीलाई दिएको छु । झोला बनाउने, बगैँचामा काम गर्ने र रेडियोमा काम गर्नका लागि सिक्नुपर्छ । त्यो सिक्ने समय पनि थियो ।’

‘‘हामी कलाकारको सम्बन्ध बलियो छ’

बलिउडका अन्य कलाकारसँगको आफ्नो सम्बन्धबारे सञ्जय दत्तले आफ्नो सम्बन्ध केही कलाकारसँग निकै गहिरो भएको र आफूहरुबीच अहिले कुनै प्रतिद्वन्द्वी भावना नभएको बताउँछन् । उनी भन्छन्, ‘हामी सबैले आ–आफ्नो काम गरेका छौँ । हामी सबै दाजुभाइ हौँ । सलमान, शाहरुख, अजय, सुनिल वा अक्षयको फिल्म चल्यो भने मलाई राम्रो लाग्छ । हामी एउटै उद्योग, एउटै परिवार हौँ । हामीहरु बीच एक अद्भुत सम्बन्ध छ ।’

सलमान खानसँगको आफ्नो रमाईलो पल स्मरण गर्दै सञ्जय दत्तले एउटा घटनाबारे कुरा गरेका छन् । उनले भनेका छन्, ‘म कुनै समय हार्ले बुट लगाउने गर्थे । पहिले हार्लेमा पट्टी थियो, सलमानले अचानक जुत्ताको बेल्ट काटिदिए । पछि मैले उसलाई अब अर्को पट्टी पनि काटिदेउ भनेँ । यसो भन्नुको अर्थ हामीबीच निकै स्वस्थ सम्बन्ध छ ।’

सञ्जय दत्तले आफू आफ्नो करियरमा निकै सन्तुष्ट रहेको आफूले राम्रा र नराम्रा दुवै फिल्ममा काम गरेको बताए । उनले आफूसँग अझै धेरै काम बाँकी रहेको पनि बताए ।

सञ्जय दत्त परिवारबारे के भन्छन् ?

बीबीसीसँगको कुराकानीमा सञ्जय दत्तले आफूले परिवारबाट धेरै माया पाएको बताउँछन् । तर यसो भनिराख्दा एउटा कुराले आफूलाई निकै सताउने गरेको पनि बताए । उनी भन्छन्, ‘मलाई मेरी आमाको असाध्यै माया लाग्थ्यो, पापाको पनि । हामी निकै जवान हुँदा नै आमाले छोडेर जानुभयो । हामी उहाँको अगाडि हुर्कन पाएनौँ भन्ने कुरा सम्झेर असाध्यै नराम्रो लाग्छ । हामी न त उहाँको अगाडि हुर्कियौँ न नै उहाँले आफ्नो नाति नातिना देख्न पाउनुभयो । मेरो बुवाले पनि मेरो बच्चालाई देख्नुभएन । यो सम्झँदा असाध्यै नराम्रो लाग्छ र सधैँ स्मरणमा रहन्छ । जुन संस्कार उहाँहरुले हामीलाई सिकाउनुभयो, त्यो सधैँ हामीसँगै रहनेछ ।’

सञ्जय थप्छन्, ‘मेरा लागि मेरा पिता चट्टान जस्तै थिए, उहाँ बितेपछि मेरो सहारा नै छुटेको जस्तो भयो र केही वर्ष निकै मुश्किल रहे । ’
श्रीमती मान्यताबारे कुरा गर्दै उनले भने, ‘मान्यता मेरो परिवारको बलियो स्तम्भ हुन् । उनले मुश्किल समयमा पनि पूरा घरलाई निकै राम्रोसँग सम्हालेर राखिन् ।
एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com