Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

बागलुङमा टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहेका छन् । उनले आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन् ।

विकासे कार्यक्रमका विषयमा पनि उनीहरुले टिप्पणी उतारेका छन् । शनिबार बिहान साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाए । सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्य टोलमा पनि करोडौँको योजना माग भएर आउने गरेका छन् ।

वडामा आउने बजेटले स्थानीयबाट आएका १० प्रतिशत योजनासमेत सम्बोधन गर्न कठिन हुने गरेको पौडेलले बताए । पौडेलमात्रै होइन बागलुङका अधिकांश वडामा निर्वाचित वडाध्यक्षको पहिलो काम नै टोल भेला र योजना सङ्कलन भएको छ । सबै वडाका सर्वसाधारणको माग र आवश्यकता एकै खालका छन् । यसपटकको निर्वाचनमा दोहोरिएका वडाध्यक्षका लागि त यो प्रक्रिया निकै पुरानो भइसकेको छ । तर नवनिर्वाचित वडाध्यक्षका लागि भने जनताका चाहना र योजना निकै चुनौतीपूर्ण रहेको महसुस हुन थालेको छ ।

“जनताले अपेक्षा राख्न पाउँछन्, सबै योजना बन्छन् नै भनेर मागेका पनि होइनन्, प्राथमिकताका आधारमा विनियोजन हुने योजनामा जनता खुसी हुन्छन्”, बागलुङ नगरपालिका–१३ का स्थानीय डा रामबहादुर केसीले भने, “स्रोत कम हुने र आवश्यकता बढी हुने मानवीय गुण हो ।” आगामी असारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन भ्याइनभ्याइ गर्दै पालिका प्रमुख र वडा समितिले योजना खोजी गर्न थालेपछि सर्वसाधारण पनि आफ्नो टोल र गाउँका योजना लिएर जनप्रतिनिधिसामु पुग्ने गरेका छन् ।

“अहिले पनि धेरैले सडकै बनाउने भन्नुहुन्छ, निकै कम उपभोक्ताका मात्रै अरु योजना हुन्छन्”, बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, “हामी उपलब्ध स्रोत साधनको उपयोग गरेर न्यायोचित विनियोजनको पक्षमा छौँ ।” शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा भने निकै कम योजनाको माग हुने गरेको छ । सडक, पदमार्ग, खानेपानी र भवनका योजनाका सिवाय सर्वसाधारणका बीचमा पनि बहस हुन थालेको छ । “विगतले सानाभन्दा पनि महत्वपूर्ण काम प्रभाव राख्ने खालका गर्नुपर्छ भन्ने सिकाएको छ तर जनताको माग फरक छ”, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले भने, “जनभावना र आवश्यकता दुवैको सम्बोधन हुनेगरी काम गर्नुपर्ने चुनौती हाम्रोसामु छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com