Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

जेठ, १४ काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।

भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा–आमालाई काटिरहेको छ’, भनेका थिए ।

त्यसपछि कुद्‍दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा–आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले बयानमा भनेका छन् । भीमबहादुरले बयानमा थप भनेका छन्, ‘भाइ (ऐतराज) ले पहिले पनि बुबा–आमासँग विवाद झगडा गरी बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा–आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’

भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे । त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।

उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्‍ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् । २२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् ।

गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्‍न गइ घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा अन्ततस् बुबा बिर्खबहादुर ‘मार्छस् भने मार’ भन्दै आएकाले कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको बयान छ ।

बयानमै बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरी हत्या गरेको उल्लेख छ । हत्या आरोपी ऐतराजविरुद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ । सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता– २०७४ को दफा १७७ (२) अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् । –न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com