Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ।
वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरूषमात्र निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको संख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो।

अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बनेकी थिइन्। यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए।
रघुगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बनेकी थिइन्।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेकी थिइन्।

पालिका र वडाको नेतृत्वमा उम्मेदवार बनेको ६ महिला नै पराजित भएका छन्।
हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरूष निर्वाचित भएका छन्।

बेनी नगरमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भए पछि उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने विजयी भएकी छन् भने रघुगंगाको उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मङ्गलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बनेकी छन्।

वडातर्फ न्यून संख्यामा खुला सदस्यबाहेक महिला र दलित महिला कोटामा मात्रै सीमित हुन पुगेका छन्।
दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए

म्याग्दीको दुई पालिका प्रमुख दोहोरिएका छन्। रघुगङ्गा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मङ्गला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष सतप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

वडामा १४ वडाध्यक्ष दोहोरिएर निर्वाचित भएका छन्। अन्नपूर्णमा वडा नं १ मा दिलीपकुमार गर्वुजा, २ मा ओम फगामी, ८ मा खमबहादुर गर्वुजा पुनः दोहोरिएर वडाध्यक्षमा निर्वाचित हुँदा वडा नं ५ मा लामो समय कार्यबाहक वडाध्यक्ष रहेका राजेश तिलिजा वडाध्यक्ष चुनिएका छन्।

रघुगङ्गामा वडा नं १ बेगमा बिलप्रसाद फगामी, ५ मा मनबहादुर शेरमञ्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल वडाध्यक्षमा दोहोरिएका छन्।
बेनी नगरपालिका–३ मा पदम पुन र ६ मा कृष्णसिंह बानियाँ वडाध्यक्षमा दोहोरिएका छन्। मङ्गला गाउँपालिका–२ मा धनबहादुर खाती र ५ मा भूपेन्द्र खत्री वडाध्यक्षमा दोहोरिएका छन्।

मालिका गाउँपालिका–१ मा टङ्कप्रसाद पुन, धवलागिरि गाउँपालिका–१ मा झक छन्त्याल र ७ मा राजाराम उपाध्याय पनि दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com