Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, घोराही र कलैया गरी सात वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अझै जीतपुर सिमरा, तुलसीपुर र जनकपुरको गणना जारी छ ।

तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । हालसम्मको गतिका आधारमा काठमाडौं, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डङ्गोलको अग्रता छ ।

ललितपुर महानगरपालिका प्रमुखमा काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ । यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदमा हालसम्म ३३ हजार ८५८ निर्वाचित भएको आयोगले जनाएको छ । निर्वाचन सकिएको नौ दिन बितिसकेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com