Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

खोटाङमा पहिलोबाट तेस्रोमा झर्‍यो एमाले

७ जेठ,काठमाडौं । । यस वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले खोटाङमा सबैभन्दा बढी क्षति ब्यहोरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको संख्याको आधारमा जिल्लामा पहिलो भएको एमाले यसपल्ट तेस्रो स्थानमा झरेको छ । पहिले दोस्रो भएको कांग्रेस यसवर्ष पहिलो र तेस्रो भएको माओवादी केन्द्र दोस्रो स्थानमा उक्लिएको छ ।

दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा भएको खोटाङमा २०७४ को चुनावमा एमालेले ५ पालिका प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष जितेको थियो । उसले यसपपटक दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्ष जितेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको एमालेले यसपल्ट दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुख, ऐसेलुखर्क गाउँपालिका प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ ।

२०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यसपल्ट ६ प्रमुख, ४ उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । यसपल्ट हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावावेंसी गाउँपालिकामा प्रमुख तथा ऐसेलुखर्क, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको छ । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो ।

अघिल्लो निर्वाचनमा १ प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट २ प्रमुख, २ उपप्रमुख र २३ वडाध्यक्ष जित्न सफल भएको छ । २०७४ मा साकेला गाउँपालिका अध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुंगा प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ ।

भर्खरै उदाएको एकीकृत नेकपा समाजवादीले एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले बराहपोखरी गाउँपालिकामा उपप्रमुखमा बाजी मारेको हो । जसपाले पनि एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । जसपाले केपिलासगढी गाउँपालिकामा उपप्रमुख जितेको हो ।

अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा वडाध्यक्ष जितेको राप्रपाले यसपल्ट एक स्थान पनि जित्न सकेन । बरु खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन् ।

खोटाङका १० पालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी र रावावेंसी गाउँपालिकामा कांग्रेससहितको गठबन्धन थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुईचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामाा थियो ।

कांग्रेस एक्लै लडेका पालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । तर कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् । गठबन्धन भएको ऐसेलुखर्कमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार श्रीबहादुर राई र रावावेंसी गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार लिलानारायण श्रेष्ठ पराजित भएका छन् ।

केपिलासगढीमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको प्रमुखका उम्मेदवार माइतीराज राई कांग्रेसका समिर राईको निकटतम प्रतिद्वन्द्वीमा सीमित बने । गठबन्धनको निर्देशन विपरीत हलेसी तुवाचुङ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच अघोषित गठबन्धन हुँदा पनि कांग्रेसका बिमला राईसँग हार बेहोर्न पुगेका छन् ।

स्थानीय निर्वाचनले खोटाङमा कांग्रेस र माओवादी केन्द्रको ‘पोजिसन’ एक स्थान माथि देखाउँदा एमालेलाई तेस्रो स्थानमा झारेको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी बताउँछन् । ‘जिल्लाको निर्वाचनले एमालेको स्थानमा कांग्रेस पुग्यो । कांग्रेसको स्थानमा माओवादी पुग्यो । माओवादीको स्थानमा एमाले झर्‍यो,’ जोशीले भने, ‘घाटा एमालेलाई भो । हुन त एमालेलाई जिल्लामा मात्र होइन देशभरि नै घाटा भएको देखिन्छ ।’

गठबन्धनले तुलनात्मकरुपमा माओवादी केन्द्रलाई बढी लाभ भएको अन्य दलको विश्लेषण छ । तर वडाको हकमा भने चार वडा बाहेक अन्य वडा माओवादी केन्द्रको एकल प्रयासले जित प्राप्त गरेको माओवादी केन्द्रका नेता होमकाजी आचार्य बताउँछन् ।

‘प्रमुख उपप्रमुखमा हामीले अरुलाई जितायौं, कति ठाउँमा हामीलाई जिताए,’ आचार्य भन्छन्, ‘वडाको हकमा चार वटा बाहेक अन्य वडा आफैंले जितेका हौं । वडामा पनि तालमेल गर्न सकेको भए अरु बढी स्थान जित्न सकिन्थ्यो ।’

नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल चार दल एकातिर भएपछि एमालेको तेस्रो स्थान स्वभाविक भएको बताउँछन् । ‘एक्ला एक्लै लडेको भए विपक्षीलाई सदस्य जित्नै गाह्रो हुने थियो,’ दंगालले भने, ‘चार वटा दल मिलेपछि यस्तो परिणाम आउनु अस्वभाविक होइन ।अनलाइन खबरबाट प्रकाशित

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com