Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप

काठमाडौं २७ वैशाख । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।

केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।
रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर ५ मा माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन्।

खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता कमल बुढा र मानबहादुर बुढा घाइते भएका छन्। उनीहरुको उपचार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

‘चुनाव प्रचारप्रसारका क्रममा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुईनेटा भन्ने स्थानमा जम्काभेट भएपछि माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्ने छ,’ घिमिरेले भने, ‘म अहिले पनि गंगादेव गाउँपालिकामै छु, खुकुरी हान्नेहरुको खोजी भइरहेको छ।’

गंगादेव गाँउपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बीचमा चुनाबी तालमेल छ। यहाँ कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाले पनि गाउँपालिकामा उम्मेदवारी दिएको छ।

रुकुम पश्चिममा पनि गए राति माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।
बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा आन्तरिक छलफल भइरहेका बेला कांग्रेस कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।

कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित मित्रलाल वली, तरुण दलका हुमजंग बोहरा लगायतका घाइते भएका छन्।
‘हामी बैठक बसिरहेको बेला वाइसियलका कार्यकर्ताले लाठी, खुकुरी, भाला लिएर आक्रमण गरे,’ एक जना कांग्रेस कार्यकर्ताले भने, ‘यहाँ दिनहुँजस्तो माओवादीले कांग्रेसमाथि आक्रमण गर्दै आएका छन्। प्रहरी प्रशासन रमिते मात्रै बनेको छ।’

चुनावका बेला ३३ जना कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको छ।
दिनहुँजसो झडपहरु हुन थालेपछि माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र कांग्रेसका नेताहरुले पनि विज्ञप्ति निकालेर शान्तिपूर्ण निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।

रुकुम पश्चिमका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र एमालेका बीचमा चुनावी तालमेल भएको छ। ती सबै ठाउँमा कांग्रेसबाट प्रमुख र एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी परेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com