Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नमूना मतदानमै मत बदर

नेपाल पत्रकार महासंघ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेको शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए।

नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
नमूना मतदानमा ६१ जनाले मत दिएका थिए। निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताए।

‘मतदानका दिन केरके गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यसहित नमूना मतदान कार्यक्रम गरिएको हो’, कार्यालय प्रमुख ढकालले जोड दिए, ‘यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौं।’

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।
स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो।
महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, ओमकार आचार्य लगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार माध्यमबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

नमूना मतदानमा सहभागी व्यास नगरपालिका–२ की एलिना कुमालले आफू पहिलोपटक मतदानमा सहभागी हुन लागेकाले यो कार्यक्रमले सहज बनाएको बताइन्।
व्यास नगरपालिका–३ निवासी दुर्गाविलास भट्टराईले मतदाता शिक्षा कार्यक्रम कमजोर रहेकाले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com