Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तेह्र वर्षदेखि आयोजना अलपत्र पारेपछि

कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ।
आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरोकारवालाले निर्वाह गर्ने भूमिकाका आधारमा समय र लागतका बारेमा उल्लेख गर्न सकिन्छ।

सन् २००९ देखि सुरू भएको एउटा आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन। निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न नगर्ने प्रवृत्ति देखिएको छ।
सरकारले औद्योगिक क्षेत्रको विस्तार एवं गुणस्तरीय बिजुली उपलब्ध गराउन तय गरेको लक्ष्यसमेत यस्ता प्रवृत्तिका कारण समस्यामा परेको देखिएको छ।

कार्यान्वयन गराउने नेपाल विद्युत प्राधिकरणसमेत निर्माण व्यवसायीको लापरबाहीका कारण पटक-पटक आलोचनाको शिकार बन्नु परेको छ। अनेकन बहना निकालेर निर्माण व्यवसायीले पूरा हुनै लागेका दुई वटा सवस्टेसन अलपत्र पारेको छ।

यस्तै, दुई सवस्टेसनको क्षमता वृद्धिको कामसमेत लामो समयदेखि पूरा हुन सकेको छैन।
प्राधिकरणले निर्माण व्यवसायीलाई पटकरपटक निर्माण सम्पन्न गर्न गरेको आग्रहलाई समेत अस्वीकार गरेका कारण ती आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत मात्रै पूरा भए।

सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी झोङडिङ इन्टरनेसन कम्पनी लिमिटेड र त्यसको पेटी ठेकेदारका रूपमा रहेको हुलास स्टिल प्रालिले तोकिएको समयमा काम नगर्दा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम अलपत्र परेको छ।

नियमित रूपमा काम गर्दा बढीमा डेढ वर्षमा सम्पन्न गर्न सकिने सो आयोजना १३ वर्ष हुँदासमेत पूरा हुन सकेको छैन।
नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीसँग गरेको सम्झौता खारेज गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको छ।

आयोजना प्रमुख सन्तोष साहका अनुसार पटकरपटक गरिएको आग्रहलाई अस्वीकार गरेर राष्ट्रिय महत्वको आयोजनाको काम अलपत्र पारेकाले ठेक्का खारेज गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न पत्राचार गरिएको छ।

प्राधिकरणले उक्त निर्माण व्यवसायीको कार्यसम्पादन जमानत र अग्रिम भुक्तानी जमानत बराबरको रु सात करोड रकम पनि जफत गरेको छ।
ठेक्का खारेज भएपछि नयाँ प्रक्रियाबाट निर्माण व्यवसायी छनोट गरी काम अगाडि बढाउने तयारी थालिएको साहले जानकारी दिए।

प्राधिकरणले तोकिएको शर्त अनुसार काम नगरेपछि बिलम्ब जरिवानासमेत लगाएको थियो।
‘अनेकन बहाना बनाएर आयोजना अलपत्र पारेपछि प्राधिकरणसँग अरू कुनै पनि विकल्प बाँकी थिएन, सोही अनुसार नै ठेक्का सम्झौता खारेज गरिएको हो’ प्राधिकरणको आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको पत्रको विवरणमा भनिएको छ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत भरतपुर र हेटौंडामा १३२ केभी क्षमताका दुई सवस्टेसन निर्माण गर्ने तथा हेटौंडा र नवलपरासीको सवस्टेसनको क्षमता वृद्धि गर्ने कार्यादेश थियो।

कार्यादेशमा तोकिएको काम अन्तिम चरणमा पुगेपछि अन्तिम समयमा आएर काममा ढिलाइ गरेको तथा प्राधिकरणको आग्रहलाई अस्वीकार गरेको पाइएको छ।

पछिल्लो चार वर्षदेखि निर्माण व्यवसायीले आयोजनास्थल समेत छाडेको छ।
आयोजनास्थलमा सबै सामान आयात भइसकेको भए पनि उपकरण जडानलगायतका काम अलपत्र छ।

भरतपुर र हेटौंडामा सवस्टेसन निर्माण पूरा नहुँदा ती क्षेत्रमा थप लोड दिन प्राधिकरणलाई समस्या परेको छ। थप बिजुली मागेका उद्योगलाई प्राधिकरणले बिजुली दिन सकेको छैन।
यस्तै, बिजुलीको भोल्टेजमा पनि समस्या देखिएको छ। सोही निर्माण व्यवसायीका कारण प्राधिकरणले निर्माण गरेको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनासमेत लामो समय अलपत्र परेको थियो।

प्राधिकरणले आफ्ना इन्जिनियर र प्राविधिक कर्मचारी पठाएर आयोजना सम्पन्न गरेको थियो।
तोकिएको समय र सर्त अनुसार काम नगर्ने जोसुकै निर्माण व्यवसायीलाई दिइएको ठेक्का खारेज गरेर नयाँ प्रक्रिया सुरू गर्ने तयारीमा प्राधिकरण लागेको छ।

लामो समयसम्म आयोजना होल्ड गरेर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले केही कडानीति अख्तियार गर्न लागेको छ।

घरायसी तथा औद्योगिक ग्राहकलाई सहज रूपमा बिजुली उपलब्ध गराउन आइपर्ने सबै खालका व्यवधानलाई हटाउन प्राधिकरणले केही कडानीति अख्तियार गर्ने तयारी गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
हिउँदको समयमा केही कठिनाइ भए पनि वर्षाको समयमा बिजुली खपत गराउन प्राधिकरणले आन्तरिक रूपमा नै बिजुली खपत गराउने रणनीति अख्तियार गरेको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com