Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ।
जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त भएका हुन्।

जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो। एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ।

यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था पनि छ ।
जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। उनीहरुलाई अहिले आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ।

यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन्। जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए।

‘यार्सागुम्बा सङ्कलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ’, उनले भने ‘निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ।’
नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

असार अन्तिम हप्तासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ। मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा सङ्कलनको पूर्जी दिइन्छ।
यार्सागुम्बा सङ्कलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड(१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।
दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो। यसवर्ष जडीबुटी सङ्कलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com