Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने पक्राउ

खोटाङ : कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेर मुद्दा चलाएको छ। अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो।

अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रहरीले जनाएको छ। साबिकको महादेवीस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ का कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोजले सूचना तथा प्रसारण विभागमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको रजिष्ट्रेशन नम्बरलगायत सबै मिलेको पाइएको छ।

अर्काका नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप र दस्तखतसमेत कीर्ते गरेर पेस गरेको कागजातका आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। आवश्यक प्रमाणसहित स्थानीय एक व्यक्तिले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरी मङ्गलबार जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

जिल्ला प्रहरीमा उजुरी परेपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको साहले बताए। गिरीलाई जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सूचना तथा प्रसारण विभागमा २०७६ असोज ५ गते दर्ता भएको सो अनलाइन मिडियाको दर्ता प्रमाणपत्र नं १५६५–२०७६–०७७ रहेको छ।
गिरीले अनलाइन मिडिया दर्ताका लागि सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रमाणपत्रमा एसएलसी २०६० मा, आइए २०६३ मा र बिए २०६५ मा उत्तीर्ण गरेको भेटिएको छ। २०६५ मा बिए तीनवर्षे थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com