Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन

आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाई एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो । मठ, मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो । कोरोनाको जोखिमका कारण विसं २०७७ र २०७८ राम्रोसँग मनाउन नपाएका मानिस विभिन्न मठ, मन्दिर, उद्यानलगायत स्थलमा हिँडेको देखिन्थ्यो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com