Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मधेस प्रदेशमा पाँच सय ९० आगलागी

बाराको परवानीपुर गाउँपालिका–५ नौतनकी कुन्तीदेवी साह खरले छाएको घरमा सुतेकी थिइन । खाना खाएर नाती नातिनासँगै मध्याह्न करिब १२ बजेतिर मस्त निद्रामा रहेकी कुन्तीले घरमा आगो लागेको सुइँको पाउन सकेकी थिइनन् । आधा घर जलिसक्दा पनि कुन्तीसहित उनकी ५ वर्षीय नातिनी सृष्टि कुमारी र २ वर्षीय नाती शिवम सुतिरहेकै थिए । छिमेकी शेषमन साहको गोठबाट सुरु भएको आगलागीले एकैछिनमा कुन्तीको आधी घर जलाइसकेको थियो । तर उनीहरुलाई घरमा आगो लागेको कुनै अत्तोपत्तो थिएन ।

कुन्तीका श्रीमान् मोतिलाल साह कानु तथा छोरा बुहारी रोजगारीको सिलसिलामा खाना खाएर बीरगंजतिर गएका थिए । गाउँका अधिकांश पुरुष पनि रोजगारीका लागि बीरगंज लगायतका स्थानमा गएका थिए । काम गर्न नसक्ने तथा कलिला बालबालिका बाहेक छिटफुट रुपमा केही युवामात्र गाउँमा थिए । घर जलिरहेको देखेर छिमेकी समतोला देवी कानुले कराउँदै आगो निभाउन गुहार माग्न थालिन् । उनले कुन्तीको नाम लिँदै ‘घरबाहिर निस्क, तिम्रो घरमा आगो लाग्या छ’ भन्दै कराउन थालेपछि कुन्ती घर बाहिर निस्केकी थिइन् ।

‘घर बाहिर निस्किँदा आधी घर जलिसकेको थियो,’ उनले भनिन्, ‘हतार हतारमा नाती नातिनीलाई पनि स्थानीयवासीको सहयोगमा बाहिर निकाल्न भ्याएँ,’ उनले भनिन्, ‘त्यसपछि दोहो¥याएर घरमा पस्न सकिएन । हेर्दाहेर्दा घरसँगै भित्रको सबै सामान, नगद जलेर खरानी भयो । गाउँलेले तत्कालै दमकललाई फोन गर्दा पनि समयमै आउन नसक्दा अन्नपात, घरमा राखिएको नगद, गरगहना, लताकपडा, भाँडाकुडा, पलङ लगायतका सबै सामान जलेको पीडितले जानकारी दिइन् ।

जेनतेन गरेर बनाएको घर जलेर खरानी भएको खबरले मोतीलाललाई एक छिन रिंगटा नै लागेको थियो । परिवार चलाउन सकस खेप्दै आएका मोतीलाललाई ओत लाग्ने सहारा खोसिएपछि पीडा थपिएको छ । बढ्दो महँगीको सामना गरिरहेको बेला आगलागीको बज्रपातले थपिएको पीडा सहन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

आगलागी कसरी सुरु भएको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । पछिल्लो ३ साता यता बारामा १३ वटा घर गोठमा आगलागी हुँदा करिब ३१ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए । गर्मी सुरु भएसँगै बारामा एक/दुई दिनको अन्तरालमा आगलागीको घटना हुने गरेको उनको भनाइ छ ।

यी घटना प्रतिनिधिपात्र मात्र हुन । वर्षौँदेखि कमाएर जोडेको घर, सम्पत्ति एकछिनको आगोले खरानी बनाइदिने गरेको छ । आगलागीको घटना बारम्बार भए पनि सर्वसाधारणले किन सावधानी अपनाउन सकेका छैनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सावधानी नअपनाउँदा बर्सेनि मधेस प्रदेशको ८ वटै जिल्लामा आगलागीको घटना दोहोरिने गरेको छ ।

साउन यता मधेस प्रदेशको ८ वटै जिल्लामा गरी अहिले सम्म ५९० वटा आगलागीका घटना भएका छन् । यी आगलागीका घटनामा परेर १७ जना महिला, ६ जना बालबालिका २ जना पुरुष गरी २५ जनाको मृत्यु भइसकेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, साउन यता ६१ जना महिला, ९ जना बालबालिका र १० जना पुरुष जलेर घाइते भई अंगभंग भएका छन । यो अवधिमा आगलागीमै परेर १८ सय ७३ वटा चौपाया जलेर मरेका छन् भने ६३ वटा चौपाया घाइते भएका छन ।

आगलागीमा परेर २४ वटा पक्की, २ सय २६ वटा कच्ची र १२१ वटा गोठ जलेर ध्वस्त भएको छ । आगलागीमा फसेका एक हजार ७६ जनाको स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको मधेस प्रदेश प्रहरी कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए ।

पालिकाहरुले आगलागी नियन्त्रण गर्न खरिद गरेको दमकल सडकमा पानी छर्ने, सेनिटाईजर छर्ने, भीआईपी नेताहरुको कार्यक्रममा फिल्डमा पानी छर्ने काममा बढी प्रयोग हुने गरेका छन् । अन्य काममा प्रयोग गरिएका दमकल चुस्तदुरुस्त अवस्थामा नराखिएका कारण तथा दमकलका कर्मचारी तम्तयार अवस्थामा नबस्दा आगलागीलाई समयमा नियन्त्रण गर्न नसकेर ठुलो जनधनको क्षति हुने गरेको पीडितहरुको भनाइ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com